काठमाडौँ सबैभन्दा प्रदूषित शहर

डढेलोविद् सुन्दर शर्मा भन्छन् “वनमा लागिरहेको डढेलोका कारण अहिले वायु प्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य शहरको हावा अस्वस्थ बनेको छ।”

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’को बिहीबारको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) १६२ पुगेको छ। 

एयर क्वालिटी इन्डेक्स’का अनुसार दोस्रो प्रदूषित शहरका रूपमा थाइल्यान्डको चियाङ माई शहर सूचीकृत भएको छ। यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत रहेको छ। 

सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिए। “वनमा लागिरहेको डढेलोका कारण अहिले वायु प्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य शहरको हावा अस्वस्थ बनेको छ,” उनले भने, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ।” 

तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन। 

विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्यूआई ५० राम्रो अर्थात् ग्रिन सिंगलले चिनिन्छ। “५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहूँ अथवा पहेँलो संकेतले चिनिन्छ। यसैगरी एक १०० देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ,” उनले भने, “१५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रूपमा लिइन्छ र ३०० देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ।”

बढ्दो वन डढेलोका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउँछन् वातावरण अभियन्ता राजन थापा। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने बताएको छ। यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।