कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ को विन्दुमा झरेको छ। गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको हो।

बजार बन्द हुनुभन्दा आधा घण्टाअघि मात्रै परिसूचक ओह्रालो लागेको हो। ९४ लाख ९८ हजार २९८ कित्ता शेयर चार अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ।

गत मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ को विन्दुमा पुग्दा साताकै सर्वाधिक चार अर्ब ८० करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रूपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको थियो। गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो। बिहीबार लघुवित्त उपसमूहको ३.४५ प्रतिशतले बढ्यो। 

यस दिन १३ मध्ये लघुवित्त र व्यापार बाहेकका सबै उपसमूह घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक २.०३ प्रतिशतले घटेको छ। १६१ कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहे। ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने पाँच कम्पनीको स्थिर रह्यो।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा आईएमई लाइफ इन्स्योरेन्स पहिलो बनेको छ। उक्त बीमा कम्पनीको २८ करोड ७७ लाख रुपैयाँ बारबरको शेयर किनबेच भएको छ। पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख, नेपाल फाइनान्सको शेयर १० करोड ५६ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। 

शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा तीन लघुवित्त परेका छन्। समता घरेलु, इन्फिनिटी र साधना लघुवित्तको शेयर १० प्रतिशतले बढोत्तरी भएको हो। विजल लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ।  

शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष पाँच कम्पनीमा पिपुल्स पावर, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपपेन्ट बैंक, हिमालयन हाइड्रोपावर छन्।