राष्ट्रपतिबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गतेबाट शुरू हुने गरी संसद् अधिवेशन आह्वान गरेका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गतेबाट शुरू हुने गरी संसद् अधिवेशन आह्वान गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबारका दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिइन्।

संघीय संसद्को तेस्रो अधिवेशन‍ वैशाख २ गते अन्त्य भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागमा अडिग रहेका बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको थियो। ७० दिनसम्म चलेको अधिवेशनमा २३ वटा बैठक बसेका थिए। ८१ घण्टा ५५ मिनेट संसदीय काम कारबाही भएको थियो।