सर्लाहीको विष्णु गाउँपालिकामा आगलागीबाट ७२ घर जले

बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका अन्य घरमा आगलागी फैलिएको वडा अध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

सर्लाहीको विष्णु गाउँपालिका-१ बाराउद्योरणस्थित पुर्वारी टोलमा भएको आगलागीबाट ७२ वटा घर नष्ट भएका छ। तस्वीर : विश्वनाथ ठाकुर/रासस

सर्लाही– सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी हुँदा ७२ वटा घर जलेका छन्।

बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा आगो लागेपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ७२ वटा घर जलेको वडा अध्यक्ष विकाउ ठाकुरले जानकारी दिए।

आगो दिउसो १ बजेतिरबाट शुरू भएको थियो। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि आगो निभाइएको वडा अध्यक्ष ठाकुरले बताए। 

“आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो। दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन। केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो। फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो,” उनले भने। 

स्थानीय विनय सिंहले एउटा घरमा लागेको आगो ग्यास सिलिन्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए।

गाउँपालिका प्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी संरचनामा क्षति पुगेको बताए। उनले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताए।

त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए।