कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरिएको छ।
म्याग्दी– कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन भएको छ।
बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले दुई र बाली संरक्षण प्रयोगशाला पोखराले एउटा कृषक समूहमार्फत पाठशाला सञ्चालन गरेका हुन्। आईपीएम सहजकर्ता सोबित शर्माले १८ हप्ताका लागि गोलभेँडा, आलु र काँक्रो खेतीमा आईपीएम कृषक पाठशाला सञ्चालन गरिएको जानकारी दिए।
“कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीय रूपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ,” उनले भने, “हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ।”
शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा पल्ट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातको काँक्रो, आलु र गोलभेँडाको सामूहिक खेती गरिएको छ। बेनी–१ अर्जममा बाली संरक्षण प्रयोगशालाको सहयोगमा गोलभेँडा खेतीका लागि आयोजना भएको आईपीएम पाठशालामा २९ जना कृषक सहभागी भएका उनले जानकारी दिए।
कृषि ज्ञान केन्द्रको सहयोगमा बेनी–२ को बगरफाँटमा काँक्रो र मंगला गाउँपालिका–२ तोराखेतमा आलुखेतीका लागि सञ्चालन भएको पाठशालामा २५/२५ कृषक सहभागी भएका छन्। बेनी–३ भकिम्लीको भकुभुकेमा स्वर्गाश्रम, वडा नं ५ को बगुवाखोला, वडा नं ९ तोरीपानी र वडा १० नं पात्लेखेतमा आलु खेतीका लागि उक्त पाठशाला सञ्चालन गरिएको छ।
ती सबै पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी भएका आईपीएम सहजकर्ता शर्माको भनाइ छ। बेनी–६ जामुनाखर्कमा आलु बालीमा पाठशाला सञ्चालन भएको छ।
बेनी–१ अर्जमको देउराली आईपीएम कृषक समूहका अध्यक्ष तुलसी थापाले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताए।
“तितेपाती, असुरो, खरानी, गाइभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउनेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छौँ,” उनले भने, “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ।”
“खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ। कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभाबी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ”, कृषक सुन्दर थापामगरले भने।
पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आईपीएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए। “आईपीएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका छौँ,” उनले भने, “परम्परागत तुलनामा आईपीएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको छ।”
गत आर्थिक वर्षमा बेनी–१ उपल्लाचौर, वडा नं २ को भकुण्डेचौर, वडा नं ६ को छाप र वडा नं ४ को सिङ्गामा सञ्चालन भएको आईपीएम कृषक पाठशाला प्रभावकारी बनेको थियो। बेनी–१ की कृषक सावित्री थापाले रासायनिक विषादी र मलको प्रयोग घटाइ प्राङ्गारिक मल र जैविक विषादीबाट स्वच्छ कृषिउपज उत्पादन गर्न थालिएको बताइन्। एउटा पाठशाला सञ्चालन गर्न एक लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको नगरपालिका कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
