झापामा परीक्षा दिएर फर्किएकी छात्रामाथि आक्रमण

अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बसेर अध्ययन गर्दै आइरहेकी एक छात्रा घाइते भएकी छन्।

झापा– झापाको दमकमा एक छात्रामाथि आक्रमण भएको छ। उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी अज्ञात व्यक्तिको आक्रमणबाट घाइते भएकी हुन्।

उनीमाथि शुक्रबार मध्याह्न १२ बजेतिर आक्रमण भएको हो। १८ वर्षीया अधिकारी उदयपुरको लिङचिबुङ गाउँपालिका– ३ घर भई दमक नगरपालिका–५ मा डेरा गर्दै बस्दै आएकी थिइन्।

दमकस्थित हिमालय माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै आक्रमण भएको हो। उनको पेटमा चोट लागेको बताइएको छ। घाइते अधिकारीको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पताल जनाएको छ। 

परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। आक्रमण गरी फरार भएका ती व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ।