सय दरका नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले सय दरका नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिएको छ।

काठमाडौँ– सरकारले सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्न स्वीकृत दिएको छ। सरकारले सयको नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिने निर्णय गरेको हो।

वैशाख १३ र २० गतेका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सय दरको नोटको पृष्ठभूमिमा पुरानो नक्सा रहेकाले अहिले चुच्चे नक्सा आइसकेपछि चुच्चे नक्सा राखेर डिजाइन परिमार्जन गर्ने निर्णय भएको बताइन्।

उनले भनिन्, “नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ सय दरको बैंक नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको छ।” नोटको डिजाइन परिमार्जन गर्ने प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो। सरकारले स्वीकृत दिएपछि नेपाल राष्ट्र बैंकले सय दरका नोटको डिजाइन परिमार्जन गर्ने छ।

त्यस्तै, बैठकले अर्थ मन्त्रालयकै प्रस्तावमा विश्व बैंकबाट उपलब्ध हुने १०० मिलियन अमेरिकी डर करिब १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।