लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा विधायन समितिको चासो

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरूको कार्यान्वयन, तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएको छ।

तस्वीर : रासस

लुम्बिनी– राष्ट्रियसभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्र स्थलगत अवलोकन गरी गुरुयोजनाबारे जानकारी लिएको छ।

समितिका सभापति र सदस्यहरूले लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरूको कार्यान्वयन, तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएका हुन्। कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकरणका लागि अन्तिम मनोनयन दस्ताबेज पेश गरिएको लगायत विषयमा समितिलाई जानकारी गराएकी थिइन्।

त्यस अवसरमा विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्ययनले महत्त्वपूर्ण दस्ताबेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नु सघाउ पुग्ने बताए।

छलफलमा विधायन समितिका सदस्यहरू एवं राष्ट्रियसभा सदस्यहरू गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, युवराज शर्मा, रेणु चन्द, सुमिज्ञा बिसी र समिति सचिव कमला शाक्यको उपस्थिति रहको थियो।

समितिको टोलीले शुक्रबार नै बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदानलगायतका क्षेत्रको भ्रमण गरेको थियो।

यो पनि : लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो, विश्व सम्पदा सूचीबाटै हट्ने खतरा