ब्राजिलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ। करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ।

एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित २३५ नगरपालिकालाई असर गरेको छ।

राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू क्षतिग्रस्त छन्। १४ लाखभन्दा बढी जनसंख्या रहेको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ। 

भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिना पनि प्रभावित भएको छ। त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ।

विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ। एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

गभर्नर एडुआर्डो लेइटले भनेका छन्, “यो कठिन अवस्थामा हामी जनतालाई आफ्नो घर छोड्न आग्रह गर्छौं। हाम्रो लक्ष्य जीवन बचाउनु हो। हाम्रो प्राथमिकता मानिसहरूलाई उद्धार गर्नु हो।” सबैभन्दा ठूलो प्रकोप सामना गरिरहेको उल्लेख गर्दै उनले रियो ग्रान्डे डो सुल अहिले ‘युद्धको स्थिति’मा रहेको बताए।