सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो दिन पनि स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

काठमाडौँ– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक दोस्रो दिन पनि स्थगित भएको छ। शनिबार बेलुका साढे ५ बजेका लागि डाकिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको हो।

“शनिबार बेलुका ५:३० बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक कारणवश स्थगित भई उक्त बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्पूर्ण माननीय प्रदेशसभा सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

मुख्यमन्त्री सोडारीले विश्वासको मतसम्बन्धी प्रस्ताव वैशाख १८ गते प्रदेशसभामा दर्ता गराएका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि भन्दै शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेशसभाको बैठक डाकेका थिए। तर शुक्रबारको बैठक स्थगित गरेर शनिबार बेलुका साढे ५ बजेका लागि निर्धारण गरिएको थियो।

सत्तारुढ दल एमालेले आफूहरूसँग सल्लाह नै नगरेर बैठक आह्वान गरेकाले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन सक्ने अवस्था नरहेको जनाएपछि शनिबार बोलाइएको प्रदेशसभा बैठक पनि स्थगित भएको हो। एमालेले केन्द्रसँग सल्लाह गरेर मात्र मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने जनाएको छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्रीमा एकीकृत समाजवादीसहित माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति (रञ्जिता चौधरी पक्ष)का सांसदले समर्थन गरेका छन्।सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।