गाउँ फर्किएर पशुपालन, दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि

बजारको समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि गुल्मीका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ।

फाइल तस्वीर

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे। विदेश (दुबई)मा उनले होटलमा काम गर्थे। उनी एक पटक घर आएको बेला फेरि विदेश जान मन लागेन। अन्ततः उनले २०७० सालदेखि व्यावसायिक गाईपालन शुरू गरे।

सिद्धबाबा गौशाला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय शुरू गरेका पाण्डेको गोठमा अहिले १५ माऊ गाई छन्। त्यसबाहेक साना बाच्छी पनि छन्। गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्छन्। प्रतिलिटर ७५ मा तम्घासमा उक्त दूध बिक्री गर्छन्।

“दैनिक ६ हजारको दूध बिक्री हुन्छ। मासिक एक लाख ८० हजार वार्षिक २१ लाख ६० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ,” पाण्डेले भने, “दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ।” विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उनले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताए। पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन्। “बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,” उनले भने, “एकचित्त भएर काममा लागे सफल भइन्छ।”

धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्यालले कोभिड–१९ भन्दा अगाडि बुटवलमा व्यवसाय गर्थे। विसं २०७७ मा कोरोनाले उनलाई घर फर्कायो। बच्चाबच्चीको पढाइ पनि बन्द भयो। कोभिडले केही समय बुटवल फर्किने स्थिति भएन। केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटवल नफर्किने गरी भैँसी व्यवसायमा लागे। २०७७ सालबाटै ‘अर्याल पशुपक्षी फर्म’ बाट भैँसीपालन व्यवसायमा लागेका अर्यालको गोठमा अहिले २२ वटा माऊ भैँसी छन्। त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन्।

“प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,” अर्यालले भने, “गाउँका १० जनालाई रोजगार पनि दिएको छु।” उनले एउटा याममा १५० लिटरसम्म दूध बिक्री गरेको बताए।  व्यवसाय शुरू गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ। अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले पाँच लाख रुपैयाँ को कार्यक्रम दिएर सहयोग गरेको बताए। शुरूमा गाउँमै भैँसीपालन व्यवसाय गर्छु भन्दा नपत्याउने गाउँलेहरू अहिले आफ्नो कर्म देखेर दंग परेका अर्यालको भनाइ छ। 

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गरेका छन् यसका लागि मालिका गाउँपालिका–६ मा वार्षिक १८ लाख रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिएका छन्। तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउँछन्।

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त छन्। बिहानदेखि बेलुकासम्म उनको समय गाई/भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ। “अहिलेसम्म एक करोड ६ लाख रुपैयाँ लगानी लगाएको छु, यसबाट ३० गाई/भैँसी अट्ने गोठ बनाएको छु। ३० गाई/भैँसी पनि किनेको छु,” घिमिरेले भने, “भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ।”

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताए। उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका हुन्। सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताउँछन्। कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उनी बताउँछन्।

“शुरूमा त कसैले पत्याएनन् तर निरन्तर गर्दै गए,” घिमिरेले भने, “अहिले व्यावसायिक कृषक बन्न पाउँदा खुशी लागेको छ।” माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत साबित गराउन आफू लागिपरेको उनले बताए। हिमालय माविबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ वर्षपछि घिमिरे फेरि गाउँ फर्किएर व्यावसायिक भैँसीपालनमा लागेका हुन्। राज्यले कृषि क्षेत्रलाई अगाडि बढाउन अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ। लम्पी स्किन रोगबाट धेरै गाई/भैँसी गुमाए पन क्षतिपूर्ति नपाएको उनको गुनासो छ।

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यावसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमूलक कृषक मात्रै हुन्। बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। अधिकांश दूध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ। त्यसका अलावा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दूध बढी खपत हुँदै आएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले गुल्मीको दुई लाख ६० हजार जनसंख्यालाई वार्षिक ९० लिटरका दरले पिउन पुग्ने गरी दूध उत्पादन भएको बताए। जिल्लामा दूध उत्पादन वृद्धि गर्न भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा किसानलाई तालिम दिएको उनले बताए।