वनमा आगो लगाएको अभियोगमा काभ्रेमा ५ जना पक्राउ

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।

प्रतिकात्मक तस्वीर।

काभ्रेपलान्चोक– वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन्।

वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले  बताए।  

पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक जंगलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ गरेका छन्। 

यसैगरी, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जंगलमा आगो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई मुद्दा चलाइएको उनले बताए। 

डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ। रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।