मुहान सुकेपछि पाँचथरका ३०० घरमा खानेपानी समस्या, ट्यांकरबाट आपूर्ति गरिँदै

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।

पाँचथर– खडेरीका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३०० भन्दा बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध गर्न थालिएको छ।

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।

ट्याकरमा सोही वडाको हेवाखोला छेउमा रहेको मुहानमा पानी जम्मा गरी सल्लेरीमा रहेको पाइप लाइनबाट साँचेखोला खानेपानी आयोजनाको ट्यांकीमा संकलन गरिएको छ। यहाँ  निर्माण गरिएका २०  र ६० हजार लिटर क्षमताका दुई वटा ट्यांकीमा जम्मा गरी खानेपानी वितरण गर्ने गरिएको साँचेखोला खानेपानी आयोजनाका अध्यक्ष तिलविक्रम इधिंगोले बताए। 

“मुहान सुकेपछि उपभोक्ता मिलेर वडा कार्यालय, हिलिहाङ गाउँपालिकालगायत निकायमा जानकारी दियौँ,” इधिंगोले भने, “वैशाख १५ देखि ट्यांकरबाट निरन्तर खानेपानी वितरण भइरहेको छ।” ३०० भन्दा बढी उपभोक्तामध्ये ४५ घरका उपभोक्ताले  तीनधारे मुहानबाट दुई घण्टा पानी बोकेर लैजाने गरेका छन्। स्थानीय कौशिला बराइली पानीको जोहो गर्न दैनिक तीन घण्टाभन्दा बढी समय खर्चिनु परेको बताउँछिन्। 

स्थानीयवासीले ट्यांकरबाट खानेपानीको प्रबन्ध गर्न थालेपछि फिदिम नगरपालिका, फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, हिलिहाङ–७ वडा कार्यालय, एपेक्स निर्माण कम्पनी, इन्द्र योक्पाङ्देनलगायतले सहयोग गर्दै आएका छन् । 

खानेपानीको समस्या भोगिरहेका हिलिहाङ गाउँपालिकाका सातवटै वडाका लागि बृहत् सुभाङ खानेपानी आयोजना निर्माण भइरहेको छ। हिलिहाङ–७ को साबिक भारपा गाविसका लागि उक्त बृहत् आयोजनाअन्तर्गत नै साँचेखोला ‘बी’ योजना निर्माण भइरहेको छ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकेको छ।  साँचेखोला ‘बी’ उपयोजनाको मुहानभन्दा पाइप लाइनको केही भाग माथि बनेका कारण उक्त उपयोजना तत्कालै सञ्चालन हुन नसक्ने अवस्थामा छैन। 

 साबिक भारपा गाविस– ६, ७, ८ र ९ का लागि २०५३ सालमा साँचेखोला खानेपानी योजना निर्माण थालिएको थियो। उक्त योजना सशस्त्र द्वन्द्वका कारण प्रभावित भई २०६९ देखि पानी वितरण शुरू भएको थियो। 

पुरानो साँचेखोला योजनाभन्दा करिब २५० मिटर तलको मुहानमा बृहत् आयोजनाअन्तर्गत साँचेखोला ‘बी’ निर्माण भएको हो।

यद्यपि प्राविधिक, निर्माण कम्पनी र तालुकदार निकायबीच समन्वय नहुँदा उक्त उपयोजनाको ट्रान्समिसन लाइनको केही भाग मुहानभन्दा माथि निर्माण भएपछि एक हजारभन्दा बढी उपभोक्ता खानेपानीको आधारभूत सुविधाबाट वञ्चित भएका छन्।