काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा वर्षा

मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगको अनुमान गरेको छ।

काठमाडौँ– कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगसहित वर्षा भएको छ। आइतबार काठमाडौँ उपत्यका पनि सामान्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले ती स्थानमा वर्षा भएको हो। 

गण्डकी प्रदेश क्षेत्रमा जम्मा भएर बसेको स्थानीय वायु दक्षिण–पूर्वी क्षेत्रमा सरिरहेको र यसको प्रभावका कारण केही स्थानमा हल्का वर्षा भएको विभागका मौसमविद् सरोज पुडासैनीले राससलाई जानकारी दिए।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्यांगको अनुमान गरिएको छ। उच्च हिमाली भूभागमा भने हल्का हिमपातको पूर्वानुमान पनि महाशाखाले गरेको छ।

सोमबार दिउँसो कोशी, गण्डकी र कर्णालीलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली भई अन्य स्थानमा भने मौसम सफा रहने अनुमान गरिएको छ। सोमबार राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुने छ।

त्यस्तै, मंगलबार देशभर आंशिक बदली हुने मौसमविद् पुडासैनीले बताए। स्थानीय वायुको प्रभावले अहिले छिटपुट वर्षा देखिए पनि यो लामो समयसम्म भने नरहने उनको भनाइ छ।