उत्तर अमेरिकी टोली क्यानडा क्राेएसियासँग फराकिलाे हार बेहाेरेसँगै एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ।
काठमाडाैँ– उत्तर अमेरिकी टोली क्यानडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ।
अल खालिफा रंगशालामा आइतबार राति सम्पन्न खेलमा क्रोएसियासँग ४-१ गोलअन्तरले पराजित भएसँगै क्यानडा एक खेल बाँकी छँदै बाहिरिएको हो। अल्फोन्सो डेभिसले खेलको दोस्रो मिनेटमै गोल गरेपछि क्रोएसिया पनि जापान र बेल्जियमसँगै आइतबार अनपेक्षित नतिजाको सिकार हुने संकेत देखिएको थियो। तर, क्रोएसियाले क्यानाडामाथि रवाफिलो जित हासिल गर्दै प्रतियोगितामा आइतबार निस्किएका अनपेक्षित नतिजाको शृंखलामा विराम लगाएको छ।
डेविसले टाजोन बुचनानको पासमा जारी विश्वकपमा क्यानाडाको पहिलो गोल गरेका थिए। तर, आन्द्रेज क्रामारिचले खेलको ३६औँ मिनेटमा इभान पेरिसिचले मिलाइदिएको अवसरलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए। मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा जोसिप जुरानोभिचको पासलाई मार्को लिभाजाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए।
७०औँ मिनेटमा क्रामारिचले दोस्रो व्यक्तिगत गोल गरेपछि क्रोएसियाको जित पक्का भएको थियो। क्रामारिचले दोस्रो गोलमा पनि पेरिसिचकै क्रसलाई सदुपयोग गरे। क्रामारिचले क्रोएसियाका लागि मारियो मान्डजुकिचपछि विश्वकपको एकै खेलमा दुई गोल गर्ने सफलता हासिल गरे।
इन्जुरी समयको चौथो मिनेटमा लोभरो मायरले गोल गर्दै क्रोएसियाको जित अन्तर थप फराकिलो पारे। मायरले मिस्लाभ ओर्सिचको छरितो पासलाई गोलमा परिणत गर्दै क्रोएसियाको जित थप प्रभावशाली बनाएका थिए। समूह ‘एफ’को खेलमा मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएलगत्तैको खेलमा क्रोएसिया भने क्यानाडासँग स्तब्ध हुनबाट जोगियो। यो नतिजापछि दुई खेलको समाप्तिमा समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा छन्।
बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानडाले अंकको खाता खोल्न सकेको छैन। समूह चरणको पहिलो खेलमा क्यानडा बेल्जियमसँग १-० गोलले पराजित भएको थियो भने क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। समूह ‘एफ’बाट नकआउट चरण पुग्ने प्रतिस्पर्धामा क्रोएसिया, मोरक्को र बेल्जियम बाँकी छन्।
तीनमध्ये अन्तिम १६ पुग्ने दुई टोलीको टुंगो डिसेम्बर १ मा हुने अन्तिम खेलले लगाउनेछन्। समूहका अन्तिम खेलमा क्यानडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
