नेप्से परिसूचक १५.६२ अंकले घट्यो, कारोबार २ अर्ब ८९ करोडमा सीमित

सोमबार नेप्से परिसूचक १५.६२ अंकले घट्दै १९५८.७५ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १५.६२ अंकले घट्दै नेप्से परिसूचक १९५८.७५ को विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ।

सोमबार ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ को विन्दुमा रहँदा ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच भएको थियो। कारोबार रकम तीन अर्ब ७९ करोड ५७ लाख रुपैयाँ थियो। 

सोमबार १३ मध्ये विकास बैंकबाहेक सबै उपसूचक घट्दा नेप्सेसँगै कारोबार रकम घटेको हो। आइतबार भने सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको थियो। १७७ कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने सात कम्पनीको शेयर मूल्य स्थिर रह्यो।

२८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पहिलो नम्बरमा छ। उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। नेपाल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको नौ करोड ८० लाख, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

शेयर मूल्य बढ्ने कम्पनीका बोटलर्स तराई, माउन्टेन हाइड्रो, सीवाईसी लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, वाराही हाइड्रोपावर लगायत छन्। पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर मूल्य घटेर नेगेटिभ सर्किट नै लागेको छ। पिपुल्स पावर, समता घरेलु लघुवित्त, नाडेप लघुवित्तको पनि शेयर मूल्य घट्दा लगानीकर्ता नोक्सानमा रहेका छन्।