बागमती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति चयन हुन सकेको छैन।

बागमती– बागमती प्रदेशसभाअन्तर्गतको पाँच वटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ। समितिमा सभापति चयन हुन नसक्दा महत्त्व मानिएको ती समितिहरूको कामकाज प्रभावित हुँदै आएको छ।

बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ। ती सबै समितिमा सभापति चयन हुन सकेको छैन।

समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउँछन्। गत शुक्रबार बसेको बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँच वटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो।

बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरू चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए। सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए। बागमती प्रदेशसभामा ११० जना प्रदेशसभा सदस्य छन्।