शेयर बजारमा सामान्य अंकको सुधार

मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार सामान्य अंकको सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ को विन्दुमा उक्लिएको हो।

नेप्सेका अनुसार मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो। विकास बैंक, म्युचुअल फन्ड र अन्य उपसमूहमा पनि सामान्य बढोत्तरी छ।

मंगलबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ। ११ कम्पनीका शेयरमूल्य स्थिर रह्यो। सर्वाधिक कारोबार हुने कम्पनीमा पोखरा फाइनान्स पहिलो नम्बरमा रह्यो। उक्त कम्पनीको आठ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै, आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको पाँच करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको चार करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ।

शेयर मूल्य बढ्ने कम्पनीमा हिमालयन लघुवित्त पहिलो नम्बरमा छ। इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन्। शेयर मूल्य घट्नेमा बोटलर्स तराई, सीवाईसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो, दोल्ती पावर, नेपाल फाइनान्स लगायत छन्।