सगरमाथा आरोहण गर्न ४१४ जनाले लिए अनुमति

पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ जनाले अनुमति लिएका हुन्।

फाइल तस्वीर

काठमाडौँ– सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४१४ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि ११२ आरोही समूहका ९७१ आरोहीले अनुमति लिएका छन्। हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ उठेको छ।

वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि.) सम्म बाटो खुलिसकेको छ। आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो। यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो।