आमाको मुख हेर्ने दिन मनाइँदै, मातातीर्थमा मेला

मातातीर्थ औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।

काठमाडौँ– बुधबार मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वका रूपमा आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरू भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्छन् । 

धर्मशास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ।

यसैबीच, बुधबार बिहानैदेखि दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ। विशेषगरी आमा नहुनेहरू उक्त कुण्डमा स्नान तथा हरिहरको दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले बताए। 

कतिपय दर्शनार्थी मंगलबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए। उनीहरूले बिहान सबेरै स्नान गरी पूजा गरेका छन्।

यसैबीच मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।