शेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहमा भने अस्वाभाविक वृद्धि

बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

काठमाडौँ– साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको शेयर बजारमा मंगलबार सामान्य सुधार थियो। बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ। कारोबार रकम भने भने हिजोका तुलनामा बढेको छ।

५८ लाख ७४ हजार ९६७ कित्ता शेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रहँदा ५० लाख ६४ हजार ३८ कित्ता शेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो। 

आज फाइनान्स उपसमूह अस्वाभाविकरूपमा ३.११ प्रतिशतले बढेको छ भने लघुवित्त उपसमूहको बढोत्तरी २.७६ प्रतिशत छ। व्यापार र जलविद्युत उपसमूह पनि बढेको छ। १२४ कम्पनीको शेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ। १२ कम्पनीका शेयरमूल्य स्थिर छ। 

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त छ। उक्त लघुवित्तको १० करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ। ग्रामीण विकास लघुवित्तको ७ करोड १५ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाख र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर ५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। 

शेयरमूल्य बढ्ने कम्पनीमा इन्फिनिटी लघुवित्त पहिलो नम्बरमा छ। उक्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट नै लागेको छ। दोल्ती पावर, समता घरेलु लघुवित्त, ग्रामीण विकास लघुवित्त, सृजनशील लघुवित्त लगायत शेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन्। 

शेयरमूल्य घट्नेमा सर्वाधिक कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन्। उक्त योजनाको शेयरमा नेगेटिभ सर्किट नै लागेको छ।