वर्षापछि वायु प्रदूषण घट्दै

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औँ स्थानमा उक्लिएको छ।

काठमाडौँ– सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ।

वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) ८९ मा झरेको छ। सो तथ्यांकअनुसार मंगलबार दिउँसो भने एक्यूआई १२७ सम्म पुगेको थियो भने गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको वायु प्रदूषण घटेर बुधबार ८९ मा झरेको हो।

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औँ स्थानमा उक्लिएको छ। आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचिकृत भएको छ। दिल्लीको एक्यूआई १५९ पुगेको छ। जसलाई अस्वस्थ वायु मानिन्छ। यसैगरी विश्वको दोस्रो प्रदूषित शहरमा आज कंगो छ। त्यहाँको एक्यूआई १५२ पुगेको छ। 

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए। वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदैगएको उनको भनाइ छ।

विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती पनि अझै केहीदिन वर्षा हुनेभएकाले वायु प्रदूषण पनि कम हुँदैजाने बताउँछन्। उनका अनुसार शून्यदेखि ५० सम्मको वायु गणस्तर एक्यूआई राम्रो (हरियो संकेत) मानिन्छ। ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार संकेत अथवा पहेँलो रंग, १०१ देखि १५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ। त्यस्तै, १५१ देखि २०० सम्मको एक्यूआईले सबैलाई असर गर्ने, २०१ देखि ३०० लाई धेरै अस्वस्थ र सोभन्दा माथि ४०० लाई खतरनाक र  ४०० देखि माथि ४५० लाई धरै खतरा मान्ने गरिएको उप्रेतीले बताए।

नेपाल सरकारले निर्धारण गरेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ।

वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ।