फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइयो

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरका अव्यवस्थित निर्माण सामग्री हटाइएको छ। यसबारे केही दिनअघि 'नेपाल फोटो लाइब्रेरी'ले फोटो फिचर गरेको थियो।

ललितपुर– ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्री हटाइएको छ। केही दिनअघि नेपाल फोटो लाइब्रेरीले गरेको फोटो फिचरपछि त्यस ठाउँको अव्यवस्थित निर्माण सामग्री हटाइएको हो।

अव्यवस्थित निर्माण सामग्री राखिँदा सर्वसाधारणले हैरानी खेप्नुपर्ने बाध्यता थियो। निर्माण सामग्रीका कारण सवारीजाम हुनुका साथै सवारी साधन चलाउन पनि जोखिमपूर्ण थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशनमा निर्माण कम्पनी आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले अव्यवस्थित निर्माण सामग्री व्यवस्थित गरेको सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले जानकारी दिए।

"निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोर दोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो," उनले भने, "निर्माण सामग्री व्यवस्थित गर्ने विषयमा तत्काल कार्यान्वयन गर्न लगाइएको छ।"

अव्यवस्थित निर्माण सामग्री राखिँदा ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नु पर्ने बाध्यता थियो।