दरवाङको सडक १८ वर्षपछि कालोपत्र

करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीय हीराबहादुर पुनले बताए।

म्याग्दी– मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक १८ वर्षपछि कालोपत्र भएको छ।

पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय मावि भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्री सडक कालोपत्र गरेको हो।

उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि हिलो र धुलोबाट मुक्ति मिलेको बताए। “बर्खामा हिलो र हिउँदमा धुलोले सताएको थियो,” उनले भने, “सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको छ।”

तीव्र रूपमा बस्ती विकास भइरहेको उपल्लो दरवाङमा २०६३ सालमा स्थानीयवासी र तत्कालीन गाविसको बजेटबाट सडक खोलिएको थियो। यहाँ अहिले १०० घरपरिवारको बसोबास छ। उपल्लो दरवाङको सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थापन मन्त्रालयले चालु आर्थिक वर्षमा ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

गत पुसमा ५८ लाखमा ठेक्का सम्झौता गरेको सक्षम निर्माण सेवाले २५० मिटर क्षेत्रमा प्रिमिक्स प्रविधिको कालोपत्र र १०० मिटरमा पक्की नाली निर्माण गरिसकेको कार्यालयका सव इञ्जिनियर रविन चोखालले बताए। 

मालिका गाउँपालिकाले सो सडकमा यसअघि करिब ४०० मिटर पक्की नाली निर्माण गरेको थियो। यसअघि गाउँपालिकाको कार्यालयदेखि वडा कार्यालय र उपल्लो दरवाङ जोड्ने सडक ढलान गरिएको थियो।