वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, १० महिनामा मरे २१ गैँडा

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले दुई वटा तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन्। गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।

संख्या बढेपछि वासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए। भने, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ।” यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनको भनाइ छ। 

गत आर्थिक वर्षमा  १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुननसकेको गैँडा मरेको थियो। हाल निकुञ्जमा  ६९४ गैँडा छन्। दुर्लभ एकसिंगे गैँडाका लागि उपयुक्त वासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या धेरै भएपछि केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगिएको छ।