रक क्लाइम्बिङ गर्ने क्रममा लडेर घाइते भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको उपचारका क्रममा मृत्यु भएको छ।
खोटाङ– साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्ने क्रममा लडेर घाइते भएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो।
भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पुर्याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
दिक्तेलस्थित हाटडाँडा बस्दै आएका सूचन बिहीबार बेलुकी पख साथीहरूसँग रक क्लाइम्बिङ गर्न मझुवागढी भीर पुगेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत चैतमा आयोजना गरेको रक क्लाइम्बिङसम्बन्धी ६ दिने तालिममा समेत सहभागी भएका सूचन के कारणले लडेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएको छ। किराँत ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको नगरपालिकाले जनाएको थियो। तालिममा सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका पाँच जना गरी १२ जना सहभागी भएका थिए। रक क्लाइम्बिङ परीक्षणका लागि नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा पनि आएका थिए।
कृत्रिम भीरभन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको शेर्पाले बताए। पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पाको भनाइ थियो।
साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङ सञ्चालनको शुरूआत गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए। परीक्षणकै क्रममा सूचनको लडेर मृत्यु भएपछि नगर प्रमुखलगायत जनप्रतिनिधिको आलोचना शुरू भएको छ।
किराँत ऐतिहासिकस्थल मझुवागढीलाई धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्न नगरपालिकाले ‘फूलैफूलको पहाड’ सँगै रक क्लाइम्बिङस्थल बनाउने योजना अन्तर्गत बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ। मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका साथै रक क्लाइम्बिङका लागि यस वर्ष कोशी प्रदेश सरकारले एक करोड ५३ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा विसं. १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ। चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज (पिकनिक) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
