विमानको इन्जिन मर्मतमा ढिलाइबारे छानबिन गर्न निगमले बनायो समिति

नेपाल एयरलाइन्सले‍ ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले‍ ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

उनका अनुसार समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)मा मर्मत सम्भार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

निगमको न्यारो बडी जहाजको इजरायलमा इन्जिन मर्मत गर्न करिब पाँच महिना लागेको थियो। निगमको उक्त जहाज मर्मतपछि अहिले नियमित उडानमा छ।