कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

काठमाडौँ–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अगाडि बढ्न नदिने भन्दै कांग्रेसले अवरोध गरेपछि शुक्रबारको प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो।

यसअघि कांग्रेसका अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। संसद्मा धारणा राख्दै कांग्रेस महामन्त्री गगन थापाले सहकारी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अगाडि बढ्न नदिने बताएका थिए।

पुनः बसेको बैठकमा पनि कांग्रेसको अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे। 

त्यस्तै, कांग्रेसकै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको दोस्रो बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ।

सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्ने क्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए। 

दोस्रो बैठक आरम्भ हुनासाथ  कांग्रेसका सांसद आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए।

सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट गरे।  विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरे।