सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ।

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ। २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबार चार्ज गरिएको हो।

भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ।

गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ। उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ। देवनगर सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर रहेका छन्।

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ। उक्त क्षेत्रमा गार्हस्थ्य ग्राहकका अतिरिक्त ठूलो संख्यामा सिँचाइ र होटलका ग्राहकहरू रहेका छन्।

प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्याकेज–९) अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो। गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे ९ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगीता कार्कीले जानकारी दिइन्।

आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भए तापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उल्लेख गरिन्।

“कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जंगल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भयो,” कार्कीले भनिन्।

संरक्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुनबाट निर्माण शुरू गरिएको थियो। तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो।