‘म कतै भर्जिन छैन कि?, पछि श्रीमान्ले थाहा पाउँछ कि?, मेरो वैवाहिक सम्बन्ध नै बिग्रिन्छ कि?’ भन्ने कुराले महिलालाई सधैँ कमजोर बनाइरहेको हुन्छ भने उनको सिंगो परिवार नै जीवनभर सशंकित भइरहन्छ।
‘भर्जिनिटी’ अर्थात् कुमारीत्व भनेको के हो? ‘भर्जिनिटी’ शब्द सुन्नसाथ तपाईंको दिमागमा झट्ट के कुरा खेल्छ? तपाईंको मनले के कुरा सोच्छ? के हाम्रो जीवनमा भर्जिनिटीले महत्त्व राख्छ? के यसले हाम्रो यौनजीवन या त हाम्रो विवाहपछिको सम्बन्धमा प्रभाव पार्छ?
भर्जिनिटीबारे सामान्य कुराकानीको क्रम होस् वा यसबारे गहन छलफलमा होस्, यस्ता अनेकन् प्रश्न, ‘भर्जिनिटी’ शब्दसँगै प्रत्यक्ष अप्रत्यक्ष जोडिएर आउँछन्। हाम्रो समाजमा पनि कुमारीत्वलाई लिएर अनेकन् व्याख्या गरेको, यसलाई विशेष प्राथमिकतामा राखेको पाइन्छ।
तर किन? यो प्रश्नमा भने पर्याप्त छलफल भएको छैन।
के हो त ‘भर्जिनिटी’ अर्थात् कुमारीत्व? भर्जिनिटी वा कुमारीत्वको व्याख्या महिलाको योनीमा रहेको पातलो जाली वा झिल्लीसँग जोडिएको हुन्छ, जसलाई ‘हाइमन’ भनिन्छ। ‘भर्जिनिटी’ सामाजिक/सांस्कृतिक शब्दावली हो भने ‘हाइमन’ मेडिकल/वैज्ञानिक शब्दावली हो। हाम्रो समाजमा अधिकांशले ‘भर्जिनिटी’ र ‘हाइमन’ एउटै हो भनेर यससँग जोडिएका अनेकन् शारीरिक, सामाजिक मान्यतालाई हाउगुजी बनाए तापनि यी दुईको अर्थ भिन्न छ।
‘हाइमन’ भनेको किशोरीको प्रजनन अंगको एउटा भाग हो। उक्त झिल्ली महिलाको यौनांगको ठ्याक्कै बाहिरी भाग, अर्थात् यौनांगको मुखमा हुन्छ। साना बालिकादेखि वयस्क महिलामा हुने यो झिल्ली सबैमा हुन्छ भन्नेचाहिँ हुँदैन। चितवन मेडिकल कलेजकी कन्सल्टेन्ट स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. प्रकृति सिटौलाका अनुसार एक सय बालिका जन्मिँदा ५० देखि ६० जनामा मात्रै यो झिल्ली हुन्छ। कोहीमा भने जन्मजात नै झिल्ली हुँदैन।
तर जन्मजात नै कोही बालिका वा महिलाको झिल्ली छैन भने उनमा कुनै प्रकारको रोग, शारीरिक समस्या छ भन्ने मान्यता राख्नु भने गलत हो। झिल्ली नलिई जन्मिएका बालिका पनि स्वस्थ बालिका हुन्। त्यस्तै, पहिलोपटक यौन सम्पर्क राख्दा मात्रै उक्त झिल्ली च्यातिन्छ र पहिलो यौन सम्पर्क राख्दा उक्त झिल्ली च्यातिएन भने उक्त महिलाको चरित्र नै खराब छ भन्ने बुझाइमा पनि कुनै सत्यता छैन।
डा. सिटौलाका अनुसार हाइमन यौनसम्पर्क राख्दा मात्र होइन, रूख चढ्दा, घोडा चढ्दा, साइक्लिङ गर्दा, शारीरिक कसरत गर्दा वा अन्य कुनै पनि बेला च्यातिन सक्छ। यो ‘निश्चित क्रियाकलाप’ गर्दा मात्रै च्यातिन्छ भन्नु, उक्त झिल्लीलाई महिलाको अस्तित्व र अस्मितासँग दाँजेर चरित्रको मापन गर्नु, महिलाको शुद्धता नाप्ने अस्त्रको रूपमा ‘हाइमन’लाई अपव्याख्या गर्नु, यी सबै मान्यता र अभ्यास गलत हुन्।
केही हप्ताअघि हामीले कुमारीत्वले एउटा व्यक्तिको यौनजीवन र वैवाहिक सम्बन्धलाई असर पार्छ कि पार्दैन भनेर केही युवालाई सामाजिक सञ्जालमा सोधेका थियौँ। उनीहरूको विचारमा कुमारीत्वले व्यक्तिको यौन तथा वैवाहिक जीवनमा खास असर नपर्नुपर्ने हो। तर यस्ता कुराले उनीहरूलाई असर पारिरहेको छ। आफूले शारीरिक सम्पर्क राखेको व्यक्तिसँगै नै बिहे भएन भने पछि के होला, कतै मेरो श्रीमान्ले मैले अरूसँगै यौनसम्पर्क गरेको रहेछु भन्ने थाहा त पाउँदैन होला भनेर डर लागिरहने, मानसिक तनावले सताइरहने उनीहरूको अनुभव छ।
तर अझै यस्ता मान्यता, उक्त झिल्लीलाई लिएर व्यक्तिको चरित्र मापनको अभ्यास किन प्राथमिकतामा पर्छ त? यसको एउटै जवाफ हो, सही यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभाव।
यौन तथा प्रजनन स्वास्थ्यका विषयमा गरिने छलफल, कुराकानीका लागि हाम्रो समाज अझै उदार छैन। फरक–फरक भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक चालचलन, संकुचित सोच, शिक्षा र जनचेतनाको कमी आदि कारण हाम्रो र हाम्रोजस्ता अन्य धेरै देशको संरचनामा विविधता छ। यस्ता विविधतालाई स्थापित गराइराख्न सदियौँदेखि अनेकन् व्यवहार र बुझाइ अभ्यासमा छन्। त्यसमध्येको एउटा गढेर बसेको व्यवहार र बुझाइ हो, पुरुषभन्दा महिला कमजोर हुन्छन्, पुरुषभन्दा महिला साना हुन्। र यही गलत मान्यतालाई प्रोत्साहन गरिरहने हतियार हो–कुमारीत्वसँग जोडिएको सोच।
हामी धेरै वस्तु र व्यवहारलाई शुद्ध र अशुद्ध, पवित्र र अपवित्र, जुठो र चोखो भनेर परिभाषित गरिरहेका हुन्छौँ। यस्तै परिभाषा हामीले महिलामा पनि लागू गरेका छौँ। महिनावारी हुनुअघि एउटी बालिकालाई जसरी श्रद्धा गरिन्छ, महिनावारी भएपछि त्यही श्रद्धा उसले पाउँदिन। अझ पहिले त महिनावारी भएपछि एउटी किशोरी अशुद्ध हुन्छन् भन्ने मान्यता यसरी गढेको थियो कि एउटी बालिकालाई उसको महिनावारी चक्र शुरू हुनुअघि नै बिहे गरिदिने प्रथा थियो। अझै पनि विवाह नगरेकी केटीलाई चोखो, शुद्ध मान्ने र विवाह भएपछि ऊ 'पवित्र' हुँदिन भन्ने सोचलाई अति सामान्य मानिन्छ।
विभेदका यस्ता अनेकन् श्रृंखलाले महिलामाथिको भेदभाव उनीहरू पाठेघरभित्र आउनु अगावैबाट शुरू हुन्छ भन्ने पुष्टि गर्छ, जसले महिलाको इज्जत उनीहरूको योनीमा देख्छ र त्यसैको आडमा उसको सीमा निर्धारण गर्छ। फलस्वरूप, ‘कुमारीत्वको आम सोच’ व्यक्ति र समाजको साँघुरो मानसिकता, परम्परावादी अभ्यास, पुरुषत्व र पितृसत्तालाई आत्मसात् गर्दै अंकुराउन थाल्छ।
यसको गतिलो उदाहरण हो, भर्जिनिटीको व्याप्त अवधारणाका कारण पुरुषमा परेको प्रभाव। धेरै पुरुषमा कुमारीत्वसँग जोडिएको सोच र व्यवहार यति साँघुरो छ कि उनीहरू आफूले बिहे गर्न लागेको केटी भर्जिन हो कि होइन भन्ने थाहा पाउन उद्वेलित हुन्छन्। आफूसँग बिहे गर्ने केटी भर्जिन हुनुपर्छ भन्ने मान्यता मात्रै राख्दैनन् कि पहिलो सहवासमा श्रीमतीको यौनांगबाट रगत आएन भने उसले अन्यसँग शारीरिक सम्पर्क राखेकै कारण यस्तो भएको हो भन्ने निष्कर्ष निकाल्न र महिलाकै चरित्रमाथि शंका गर्न, लाञ्छना लगाउन, हिंसात्मक व्यवहार देखाउनसम्म पछि हट्दैनन्।
तर जब कसैले समानता खोज्ने दृष्टिले पुरुषको भर्जिनिटीमाथि कुरा उठाउँछ, तब त्यस विषयको उठान कसैलाई मान्य र पाच्य हुँदैन। महिलाको शुद्धता उनको हाइमन च्यातिएको छ कि छैन भन्ने कुराले निर्क्योल गर्छ भन्ने मान्यता राखिरहँदा, पुरुषको शुद्धता कहाँनेर के कुरामा जोडिएको छ भन्ने कुरा कतै उल्लेख छैन। यदि पुरुष भर्जिन छ कि छैन भन्ने कुराले कुनै अर्थ राख्दैन भने महिलाको हकमा पनि सोही कुरा लागू हुन्छ। भर्जिनिटीलाई लिएर कसैको चरित्र, क्षमता, व्यक्तिगत निर्णयबारे शंका–उपशंका गर्ने र हेयको दृष्टिले हेर्न आवश्यक छैन। तर यो अधिकांश अवस्थामा पुरुषको हकमा मात्रै लागू भएको छ।
परिणामतः भर्जिनिटीको व्याख्या शारीरिक सम्पर्कलाई मात्रै आधार मानेर गर्ने श्रीमान्हरू विवाहपूर्व आफूले कोहीसँग शारीरिक सम्बन्ध स्थापित गरे पनि फरक नपर्ने मान्यता राख्छन्। तर, ‘श्रीमतीको विवाह अगाडिको जीवनसमेत आफ्नो इच्छाअनुसार नै चलेको हुनुपर्छ’ भनेर उनीहरूको अधिकारलाई काबुमा राख्ने गलत प्रयासमा पनि अप्रत्यक्ष संलग्न हुन्छन्। १८ वर्ष उमेर माथिका कोही व्यक्ति, महिला वा पुरुषले, आफ्नो सहमति र खुशीअनुसार विवाहअगाडि नै कसैसँग शारीरिक सम्बन्ध राख्छ भने त्यो ऊबाहेक अरूको सरोकारको विषय होइन। सरोकार हुनु पनि हुँदैन। तर अधिकांश अवस्थामा युवती वा महिलाको हकमा भने हामी उक्त कुरालाई लिएर उनैलाई गलत साबित गर्न र दोषी देखाउन तल्लीन हुन्छौँ।
यो अभ्यास नेपालको मात्रै भने पक्कै होइन। कुमारीत्वलाई यति धेरै महत्त्व दिने अन्य थुप्रै देश छन्। हामीले शिक्षा, स्वास्थ्य र सोचाइको हिसाबले उच्च ठानिरहेका देशमा पनि कुमारीत्वलाई महत्त्व दिनेको कमी छैन।
उत्तरी अफ्रिकाको ट्युनिसिया महिलालाई धेरै अधिकार दिने मुलुकमध्ये एक हो। तर सन् २०१७ मा बीबीसी न्युजमा प्रकाशित समाचारअनुसार धर्म र परम्पराका नाममा त्यहाँ पनि महिलाहरूलाई बिहेअघि भर्जिन नै हुनुपर्छ भन्ने दबाब हुन्छ। जसका कारण हाइमनलाई पुरानै अवस्थामा फर्काउन ‘मेडिकल सर्जरी’ गर्नेहरूको संख्यामा वृद्धि भइरहेको छ। श्रीमती भर्जिन छैनन् भन्ने श्रीमान्लाई लागेको अवस्थामा श्रीमान्ले श्रीमतीलाई डिभोर्स दिन सक्नेसम्म कानून छ त्यहाँ।
ट्युनिसियाकी समाजशास्त्री सामिया एलौमी भन्छिन्, "ट्युनिसियाको खुला समाजमा हामी भने दिनप्रतिदिन कपटी भइरहेका छौँ। हामी आधुनिक समाजमा बाँचिरहेका छौँ भन्छौँ, तर यहाँ व्याप्त रूढीवादी सोचले त्यसलाई पुष्टि गर्दैन। जब कुरा महिलाको यौनिकता र स्वतन्त्रतामा आउँछ, तब आधुनिकता कोसौँ टाढा लाग्छ।” एलौमीको यही भनाइले अर्थाउँछ कि कुमारीत्वलाई लिएर त्यहाँका व्यक्ति र राज्यको सोच कति संकुचित छ।
तर यस्ता संकुचित मान्यताका बाबजुद कुमारीत्वसँग जोडिएका केही सकारात्मक अभ्यासले भने कुमारीत्वलाई हाउगुजी बनाउन नहुने उदाहरण दिन्छन्। त्यस्तै अभ्यासमध्ये एक हो, पाकिस्तानको पन्जाब प्रान्तमा सन् २०२१ मा बलात्कृत महिलाको झिल्ली तथा योनीभित्र दुइटा औँला छिराएर कुमारीत्व परीक्षण गर्ने अभ्यासमा लगाइएको प्रतिबन्ध। पाकिस्तानको लाहोर उच्च अदालतकी न्यायाधीश आयसा ए मलिकले यस्तो परीक्षण अपमानजनक भएको र तिनको कुनै फोरेन्सिक मूल्य नरहेको बताएकी थिइन्। हुन पनि, आयसाले भनेजस्तै कुमारीत्वको परीक्षण गरिनुको कुनै तुक र वैज्ञानिक कारण छैन।
सन् २०१८ मा रियो दी जनेरियोमा भएको स्त्रीरोग तथा प्रसूति विधासँग सम्बन्धित विश्व सम्मेलन ‘फिगो’मा विश्व स्वास्थ्य संगठन, मानव अधिकार उच्चायुक्तको कार्यालय र यूएन वमनले संयुक्त रूपमा ‘एलिमिनेटिङ भर्जिनिटी: एन इन्टरएजेन्सी स्टेटमेन्ट’ जारी गरेका थिए। कुमारीत्व परीक्षणले युवती तथा महिलामाथि हुने असमानता र भेदभावलाई मजबुत बनाएको भन्दै कुमारीत्व परीक्षणलाई निर्मूल पार्ने ध्येयका साथ उक्त वक्तव्य जारी गरिएको थियो।
यति हुँदाहुँदै पनि कुमारीत्वलाई प्राथमिकतामा राखेर महिलाको चरित्र मापन गर्ने क्रम भने रोकिएको छैन। मनोविद् जमुना शर्माका अनुसार यो एउटा व्यक्तिविशेषको समस्याभन्दा पनि संरचनागत त्रुटिको परिमाण हो। महिलालाई आफूभन्दा तल राख्न शक्तिको आडमा अनुशासनको सिँढी चढाउने सोच र चेतनाका कारण नै कुमारीत्व अझै प्राथमिकतामा परेको शर्माको विचार छ। यस्तो प्रवृत्तिले महिलालाई सधैँ डर र शंकाको घेरामा राखिरहन्छ।
‘म कतै भर्जिन छैन कि?, पछि श्रीमान्ले थाहा पाउँछ कि?, मेरो वैवाहिक सम्बन्ध नै बिग्रिन्छ कि?’ भन्ने कुराले महिलालाई सधैँ कमजोर बनाइरहेको हुन्छ भने उनको सिंगो परिवार नै जीवनभर सशंकित भइरहन्छ। यस्तो संकुचित अवधारणाले महिलाको मानसिक स्वास्थ्यमा जीवनभर प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहन्छ, जसको प्रभाव स्वरूप सिंगो समाज नै डरमा जकडिन्छ।
(लेखकद्वय यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
करुणा देवकोटा
