चीनमा कोरोना संक्रमण तीव्र, अस्पष्ट ‘शून्य कोभिड’ नीतिको विरोध

चीनमा बढ्दो कोरोना संक्रमणका बीच कोभिडविरुद्धको सरकारी नीतिको तीव्र विरोध भएको छ। जनताले कोभिडविरुद्ध सरकारले अघि सारेको नीति अस्पष्ट रहेको भन्दै विरोध गरिरहेका छन्।

चीनमा दैनिक रूपमा कोरोना संक्रमित हुनेहरूको संख्या ४० हजार नाघेको छ। 

संक्रमितमध्ये सोमबार मात्रै ७ जनाले ज्यान गुमाएका छन् भने १०४ जना गम्भीर छन्। यस्तै ३६ हजारभन्दा बढीमा लक्षणबिनाको संक्रमण देखिएको छ।

पछिल्लो समय चीनमा कोरोना संक्रमण तीव्र भएपनि गम्भीर प्रकृतिको संक्रमण भने नफैलिएको बताइएको छ। तर, यसमा ढुक्क हुने अवस्था भने नरहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ।

उचित स्वास्थ्य मापदण्डहरू दीर्घकालीन नभएसम्म जाडोयाममा संक्रमण थप फैलिने हङकङका इपिडिमियोलोजिस्टको भनाइ छ।

हङकङ विश्वविद्यालयको इपिडिमियोलोजी र बायोस्ट्याटिस्टिक्सका प्रमुख प्रोफेसर बेन्जामिन कउलिङ भन्छन्, “संक्रमण भइसकेपछि मृत्यु हुनका लागि दुईदेखि तीन सातासम्म लाग्ने भएकाले मृत्युदरलाई व्याख्या गर्दा हामी सजग हुनुपर्छ। हामी ताजा महामारीको मध्यतिर छौँ। आगामी सप्ताहमा धेरै संक्रमितको ज्यान जाने जोखिम छ”, काउलिङले भने, “यस जाडोयाममा बढ्नसक्ने ठूलो संख्याको संक्रमण नियन्त्रणका लागि चिनियाँ स्वास्थ्य प्रणालीलाई संघर्ष गर्नुपर्नेछ।”

यस्तै, सामूहिक परीक्षणलाई रोक्ने र गम्भीर संक्रमित र वृद्ध उमेरका मानिसमा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइनुपर्ने चिनियाँ जनस्वास्थ्यविद्हरूको सुझाव छ। गत आइतबार मात्रै १११ जनामा गम्भीर प्रकृतिको संक्रमण देखिएको तथा ७ जनाको मृत्यु भएको थियो। उनीहरू सबै ८० वर्ष नाघेका व्यक्ति भएको चिनियाँ समाचारसंस्था साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

यसअघि मार्चदेखि मे महिनासम्मको लहरमा पुष्टि भएका कूल ६ लाख ५० हजार संक्रमितमध्ये ६ सय जनाको ज्यान गएको चिनियाँ अनलाइन जर्नल ‘सीडीसी विक्ली’ले सेप्टेम्बरमा प्रकाशित गरेको थियो।

जाडोयाममा पनि मार्च र मे महिनामा जस्तो ओमिक्रोन भेरियन्टको संक्रमणको लहर चले चिनियाँ स्वास्थ्यसेवा प्रणालीले थेग्न नसक्ने अवस्था आउने अनुसन्धानकर्ताहरूको भनाइ छ। त्यसैले गम्भीर संक्रमणका लागि थप स्रोतसाधन जुटाउनुपर्ने उनीहरू बताउँछन्।

चिनियाँ अधिकारीहरूले सामूहिक परीक्षण र आकस्मिक लकडाउन गरेर संक्रमणको साङ्लो टुटाउने भन्दै कोभिडविरुद्ध शून्य सहनशीलता अपनाउने नीति लिएका छन्। 

संक्रमणसँगै जीवनयापन सम्भव नभएको सरकारको बुझाइ छ। विशाल जनसंख्यामा बिना जाँच संक्रमण फैलिन दिनु गम्भीर संक्रमित र मृतकको संख्या विस्फोटकरूपमा बढाउनु भएको भन्दै शून्य सहनशीलताको नीति अघि सारिएको चिनियाँ अधिकारीहरूको दाबी छ।

केही समय कोभिड संक्रमणदर ओरालो लागेको चीनमा अक्टोबर महिनापछि भने संक्रमण बढ्न थालेको हो। यद्यपि, पहिलेको तुलनामा संक्रमण कम छ। चीनले कोभिड-१९ नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउँदै आएपनि सरकारी नीतिको विरोधमा प्रदर्शन हुन थालेका छन्। 

कोभिडविरुद्धका कडा नीतिको विरोधमा जनआक्रोश बढ्दै जाँदा चीन सरकारले अहिलेको वास्तविक अवस्था स्विकार्दै आगामी दिनका प्रभावकारी योजना अघि सार्नुपर्ने, क्वारेन्टिनको अवधि छोट्याउनुपर्ने, केन्द्र र स्थानीय सरकार बीच समन्वय गर्नुपर्ने, लागत र लाभको विश्लेषण गर्दे योजना र आगामी कदमहरूलाई नागरिकसामु स्पष्टरूपमा प्रस्तुत गर्नुपर्ने विज्ञहरूको सुझाव छ। 

शून्य कोभिडको अवधारणा नागरिकलाई स्पष्टरूपमा बुझाउन नसकेका कारण पनि सरकारप्रति जनआक्रोश बढिरहेको बताइएको छ।

सरकारी नीतिको विरोधमा चर्किएको आन्दोलन रोक्न र जनतालाई कोभिडविरुद्धको लडाइँमा साथमै लैजाने प्रयास गर्न चिनियाँ सरकार चुकेको देखिन्छ। त्यस्तै, चीनले कोभिड-१९ प्रतिको भाष्य नै परिवर्तन गर्नुपर्ने बेला आएको विज्ञहरूको भनाइ छ।

चीनले शून्य कोभिड नीति लागू गरेको दुई वर्ष बितिसकेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ यो नीति तत्काल फेरबदल नहुने स्पष्ट पारिसकेका छन्।