सुरक्षण मुद्रणको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

अख्तियारले सफ्टवेयरसहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेसनल र कम्पनीको सीईओ अकबर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानि पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए।

उनीहरूले सुरक्षण प्रेसको सफ्टवेयरसहितका उपकरण खरिदका लागि सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानूनविपरीत सीमित व्यक्तिविशेष तथा कम्पनीसँग मिल्नेगरी र स्वस्थ प्रतिस्पर्धा नहुने गरी बोलपत्र आह्वान गरी सरकारी सम्पत्ति गैरकानूनी रूपमा हानि नोक्सानी पुर्‍याएको अनुसन्धानका क्रममा पुष्टि भएको आयोगले जनाएको छ। आयोगले उनीहरूमाथि ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। आयोगले उनीहरूले भुक्तानी गरेको ४० करोड ७५ लाख ५७ हजार ७४० असुल उपर गर्न र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय मागदाबी लिएको छ।

पौडेलविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी तेस्रो मुद्दा हो। उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता गरेको र अमेरिकाको स्थायी आवास अनुमतिपत्र (पीआर) लिएर विवरण लुकाइ नेपालमा नियुक्ति लिएको आरोपमा विशेष अदालतमा आयोगले दायर गरेको मुद्दा विचाराधीन छन्।