नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
बैतडी– जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाब स्वरूप चिकित्सकहरू आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।
काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए। उनले भने, “आफूहरू बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन।”
विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आइतबारदेखि सेवा ठप्प पारेका हुन्। उनीहरूले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए।
बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ।
चिकित्सक बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीले समेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा धीरज जैसवालले बताए। “हामीले विगतदेखि नै तलब भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन। बाध्य भएर आन्दोलनमा उत्रिएका छौँ,” उनले भने।
आफूहरूको माग पूरा नभएसम्म बहिरंग (ओपीडी) सेवा सञ्चालन नगर्ने डा तथा कर्मचारीको अडान छ। जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेको जनाइएको छ। तर मन्त्रालयको भने बैतडी अस्पतालको समस्या समाधानतर्फ ध्यान जान सकेको छैन।
पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएकाले आफूहरू धनगढीमै बसिरहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्। चिकित्सक तथा अस्पतालका कर्मचारीको टोलीले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएका छन्। यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकलाई सुझाएका छन्। “तपाईंहरूका मागको बारेमा सम्बन्धित निकायमा कुरा भइसकेको छ, समस्या समाधान होला, बिरामीलाई मर्का पर्ने काम गर्नुभएन,” उनले भने।
बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन्। स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ। मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक एक हजार ६०० भत्ता दिने व्यवस्था रहेको छ।
यसैबीच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशचन्द्र विष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा समर्थन जनाउँदै भोको पेटमा काम गराउन नसक्ने भन्दै उनले निमित्त मेसुको जिम्मेवारी छोडेका हुन्। जिल्ला अस्पताल बैतडीका मेसु डा. सुशील विक वैशाख २० गते उनलाई निमित्त दिएर जिल्ला बाहिर गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
