लुसेल आइकोनिक रंगशालामा सोमबार उरुग्वेविरुद्ध मैदान उत्रिँदा पोर्चुगल चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ। उरुग्वेका लागि बराबरी या हारले टोलीको अघिल्लो यात्रा सकसपूर्ण बनाउने देखिन्छ।
सन् २०१६ मा भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोप्रेरित पोर्चुगललाई युरोपियन फुटबलकै सर्वाधिक बलियो टोली मानिन्थ्यो। रोनाल्डोले सोही वर्ष फ्रान्सलाई हराउँदै युरोकप मात्रै जितेनन्, आफ्नो खेल करिअरमा लाग्दै आएको असफल खेलाडीको ट्यागसमेत मेट्न सफल भए।
क्लब करिअरमा सबैखाले प्रतियोगिता जितेका रोनाल्डोको यही पहिलो अन्तर्राष्ट्रिय ट्रफी थियो। उनले यही लयलाई निरन्तरता दिँदै चार वर्ष अगाडि आयोजना भएको रसिया विश्वकप चुम्ने सपना बुनिसकेका थिए।
तर, समूह चरण हुँदै अन्तिम १६ मा पुगेको पोर्चुगलले युरोकपमा जस्तै प्रभावशाली खेल देखाउन सकेन। र, एडिन्सन काभानीको दुई गोलप्रेरित उरुग्वेसँग २-१ गोल अन्तरले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाटै बाहिरियो। लुसेल आइकोनिक रंगशालामा समूह ‘एच’अन्तर्गत दोस्रो खेलमा सोमबार उरुग्वेविरुद्ध मैदान उत्रिँदा पोर्चुगल चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ।
फर्नान्डो सान्तोसको नेतृत्वमा रहेको पोर्चुगलले पहिलो खेलमा अफ्रिकी राष्ट्र घानालाई ३-२ गोलअन्तरले पराजित गरेको थियो। पोर्चुगलका लागि पेनाल्टीमार्फत गोल गर्दै शुरूआती अग्रता दिलाएका रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेर कीर्तिमानसमेत बनाएका थिए।
निकै नै रोमाञ्चक खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएपछि अन्तिम ३० मिनेटमा ४ गोल भएको थियो। पोर्चुगलका लागि जोआओ फेलिक्स र राफायल लिआओले गोल थप्दा घानाका कप्तान आन्द्रे आयु र ओस्मान बुकारीले गोल फर्काए।
खेलको अन्तिम समयमा गोलरक्षक डिएगो कोस्टाको असावधानीले पोर्चुगलले झन्डै अंक बाँड्नु परेको थिएन। थप गरिएको ९ मिनेटको अन्तिम समयमा घाना खेल बराबरी गर्ने सुवर्ण अवसरबाट वञ्चित हुन पुग्यो। गोलरक्षक डिओगो कोस्टाले बल भुइँमा राखेको अवस्थामा पछाडि उभिएका घानाका इनाकी विलियम्सले बल खोसे। तर बल खोस्ने क्रममा खाली पोस्टमा प्रहार गर्ने प्रयासमा उनी चिप्लिन पुग्दा डिफेन्डर लाइनमा फर्कन पाए र प्रहार गोललाइनबाट क्लियर गर्न सके।
सोमबार उरुग्वेको सामना गर्दा पोर्चुगलको कठिन परीक्षा हुने फरवार्ड गोन्कालो रामोस बताउँछन्। ‘‘उरुग्वे धेरै बलिया र खतरनाक टोली हो’’, उनले भने, ‘‘तर, हामीले कुनै पनि खेलमा बराबरीबारे सोचेका छैनौँ। हामी जितकै लागि खेल्ने छौँ।’’
पोर्चुगल लगातार दोस्रो जित निकाल्दै एशियाली राष्ट्र दक्षिण कोरियासँग एक खेल खेल्नुअगावै अन्तिम १६ मा पुग्ने लक्ष्यमा रहँदा उरुग्वे पहिलो जितको खोजीमा छ। पोर्चुगलले पहिलो खेलमा घानालाई हराउँदा उरुग्वेले दक्षिण कोरियासँग गोलरहित बराबरीमा खेलेको थियो।
आठौँपटक विश्वकप खेलिरहेको पोर्चुगलको सबैभन्दा राम्रो नतिजा सन् १९६६ मा तेस्रो हुनु नै थियो। त्यसपछि पोर्चुगल सन् २००६ मा सेमिफाइनलमा पुगेको थियो। त्यसयता पोर्चुगलले प्रि–क्वार्टरफाइनल पार गर्नसकेको छैन। टोलीसँग पाँचपटक विश्वकप खेलेका र लगातार पाँचै संस्करणमा गोल गरिसकेका कप्तान रोनाल्डोको साथ रहेको छ।
सम्भवतः उनको कतार विश्वकप नै अन्तिम हो। रोनाल्डो आफ्नो नेतृत्वमा पोर्चुगललाई विश्वकपमा सकेसम्म अगाडि बढाउने लक्ष्य राखेका छन्। घानाविरुद्धको गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा ११८ गोल गरिसकेका रोनाल्डो यो सूची लम्ब्याउन चाहन्छन्। उनी उरुग्वेविरूद्ध विश्वकपमा नवौँ गोलको खोजीमा हुनेछन्।
यी दुई टोलीले हालसम्म तीनपटक प्रतिस्पर्धा गरेको छन्। तीन खेलमा दुवै टोलीले समान एक जित, बराबरी र हारको नतिजा निकालेका छन्। यी टोलीले पछिल्लोपटक सन् २०१८ को विश्वकपमा प्रि–क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दा उरुग्वे २-१ ले विजयी भएको थियो। त्यसबेला गोल गरेका काभानी अहिले पनि उरुग्वेको टोलीमा छन् भने पेपे पोर्चुगलको टोलीमा रहेका छन्।
पोर्चुगलविरुद्ध उत्कृष्ट रक्षात्मक लय कायम राख्नसके उरुग्वे समूह चरणका लगातार ६ खेलमा क्लिन सिट राख्ने पहिलो टोली बन्नेछ। पोर्चुगलले भने समूह चरणमा खेलेका पछिल्ला १३ खेलमा एक मात्र पराजय भोगेको छ। जुन सन् २०१४ विश्वकपमा जर्मनीविरुद्ध थियो। समूह डी अन्तर्गत भएको खेलमा फरवार्ड थोमस मुलरको ह्याट्रिकप्रेरित जर्मनीले ४-० को जित निकालेको थियो।
उरुग्वेविरुद्ध सोही लयलाई निरन्तरता दिँदै समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगे पोर्चुगलले समूह जीमा रहेको ब्राजिल, स्वीट्जरल्यान्ड, क्यामरुन या सर्बियामध्ये एक टोलीसँग खेल्नपर्ने हुनसक्छ।
यता, पोर्चुगलविरुद्ध मैदान उत्रिन लागेको उरुग्वेको पनि लक्ष्य जित नै हुनेछ। डिएगो अलोन्सोको नेतृत्वमा रहेको टोलीले सोमबार जित निकाल्नसके समूह चरण पार गर्ने सम्भावना बलियो रहन्छ। बराबरी या हारले टोलीको अघिल्लो चरणको यात्रा अरू खेलको नतिजामा भर पर्नुपर्नेछ।
उरुग्वेले सन् १९३० र १९५० मा दुईपटक विश्वकप जितेको थियो भने पछिल्ला तीन प्रतियोगितामा सकारात्मक प्रभाव पारेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा चौथो स्थानमा रहेको उरुग्वे ब्राजिल विश्वकपमा अन्तिम १६ र चार वर्षअघि क्वार्टरफाइनलमा पुगेको थियो।
उरुग्वेसँग भेट्रान फरवार्ड लुइस सुआरेजसँगै एडिन्सन काभानी, डार्बिन न्युनेज, म्याक्सिमिलियन गोमेज र सर्जियो रोसेजस्ता अनुभवी खेलाडी छन्। यी खेलाडीहरूले खेलमा ठूलो प्रभाव पार्न सक्छन्। त्यसैले पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोसले पछिल्लोपटक मैदानमा उत्रिएका केही खेलाडीको भूमिका परिवर्तन गर्नसक्छन्।
फयल लियोले घानाविरुद्धको बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरे। तर, उनी पुनः विकल्पमा पर्नसक्ने सम्भावना छ। ब्रुनो फर्नान्डेस र जोआओ फेलिक्सले रोनाल्डोलाई मैदान अग्रपंक्तिमा साथ दिनेछन्।
सान्तोससँग डिओगो डालोट र जोआओ क्यान्सेलोलाई लेफ्ट ब्याकमा सार्ने विकल्प छ। तर, राफेल गुरेइरो दोस्रो खेलमा आफ्नो स्थान खोजीमा छन्।
उरुग्वेको लागि सेन्टर ब्याक रोनाल्ड अराउजोको फिटनेस चिन्ताको विषय बनेको छ। सेप्टेम्बरको अन्त्यमा तिघ्राको शल्यक्रिया गरिए पनि उनलाई टोलीमा समावेश गरिएको छ। क्याटलान क्लब बार्सिलोनाबाट खेल्दै आएका उनले कतार विश्वकप गुमाउने आशंका गरिएको छ। त्यसैले डिएगो गोडीन, जोस गिमेनेज र माथिअस ओलिभिएराले डिफेन्स सम्हाल्नेछन्। यता, माटियास भेसिनोसँगै फेडे भाल्भेर्डे र रोड्रिगो बेन्टानकुर मिडफिल्डमा छन्।
काभानीले पोर्चुगलविरुद्धको खेलमा शुरूआती ११ मा स्थान बनाउन सक्छन्। तर, दक्षिण कोरियाविरुद्धको खेलमा अटाउन नसेका सुआरेज पनि आफ्नो स्थान खोजिरहेका छन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
