जसपाबाट नियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

जनता समाजवादी पार्टीबाट नियुक्त भएका स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट नियुक्त भएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका उपमहासचिवसमेत रहेका प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हसिना खानलाई राज्यमन्त्री नियुक्त गरेका थिए। उनीहरूले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

स्वास्थ्यमन्त्री यादवलाई राष्ट्रपति पौडेलले र राज्यमन्त्री खानलाई प्रधानमन्त्री दाहालले शपथ गराए। जसपाबाट मन्त्रिपरिषद्मा राज्यमन्त्रीसहित तीन मन्त्री भएका छन्। जसपाबाटै नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन्।

जसपा, नेपाल अध्यक्ष उपेन्द्र उपेन्द्रले दाहाल नेतृत्वको सरकार छोडेलगत्तै जसपा सरकारमा प्रवेश गरेको हो। सोमबार नै उपेन्द्रले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। 

जसपा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट फुटेर गठन भएको पार्टी हो। जसपाको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगेको छ। अध्यक्ष उपेन्द्रले जसपा दर्ता खारेजीको माग गर्दै दायर गरेको रिट निवेदनको पेसी आगामी बुधबारका लागि तोकिएको छ।