थप उपकरण र प्राविधिक जनशक्ति अभावमा बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिइएको कम्पानेन्ट सेन्ट्रिफ्युज एक वर्षदेखि थन्किएको छ।
गण्डकी– गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुटाउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आउन सकेको छैन। थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो। २३ लाख रुपैयाँको उक्त उपकरण गत वर्ष नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मातहतको रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराइएको थियो।
रेडक्रस जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यले मुख्य उपकरण आए पनि त्यसलाई सञ्चालन गर्न चाहिने सहयोगी उपकरण मन्त्रालयले नदिएको जानकारी दिए। “थप उपकरण किन्न हामीसँग आर्थिक अभाव छ, उपकरण चलाउन प्राविधिक जनशक्ति पनि छैन,” उनले भने, “अपुग रहेको उपकरण पटक–पटक माग गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ हुन सकेको छैन।”
धवलागिरि क्षेत्रमै पहिलोपटक उक्त उपकरण ल्याइए पनि सञ्चालनमा नआउँदा सेतो रगत आवश्यक पर्ने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
रक्तसञ्चार केन्द्रका प्रमुख गुरुदत्त शर्माले डेंगी, कोरोना, क्यान्सरलगायत बिरामीलाई सेतो रगत अत्यावश्यक पर्दा उक्त उपकरण चाहिने बताए। “सेन्ट्रिफ्युज मेसिन आएको एक वर्षभन्दा बढी भइसक्यो तर सञ्चालनमा ल्याउन सकिएको छैन,” उनले भने, “यसलाई चलाउन सिलर, कम्पोनेन्ट सेपरेटर, मानइनस ४० डिग्रीको रेफ्रिजेरेटरको खाँचो छ।”
उनले रक्तसञ्चार केन्द्रमा आफू मात्र कार्यरत रहेको उक्त उपकरण सञ्चालनका लागि थप तालिमप्राप्त जनशक्ति चाहिने बताए। “रातो रगतबाट सेतो रगत छुटाउन यो मेसिनको प्रयोग हुन्छ, सेतो रगत आवश्यक पर्ने बिरामीलाई बागलुङमै सो रगत उपलब्ध गराउन सकियोस् भनेर मेसिन ल्याइएको हो,” इन्चार्ज शर्माले भने, “मन्त्रालयले पनि अपूरो सामान दिएकाले समस्या भयो, मेसिन सञ्चालनमा ल्याउन सबैले पहल गर्नुपर्ने देखिन्छ।”
सभापति आचार्यले रक्तसञ्चार केन्द्रका लागि प्राविधिक जनशक्ति र उपकरण व्यवस्थापनका लागि प्रदेश सरकार, स्थानीय तह, धवलागिरि अस्पताललगायत विभिन्न संघसंस्थासँग सहकार्य गर्ने तयारी भइरहेको बताए।
“एक करोडसम्मको कोष खडा गर्न सकियो भने रक्तसञ्चार केन्द्रलाई थप सुविधायुक्त र व्यवस्थित ढंगले सञ्चालन गर्न सकिन्छ,” उनले भने, “सर्वसाधारणको स्वास्थ्य सेवासँग जोडिएको विषय भएकाले समाजका सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
