कांग्रेसले संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो। 

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्‌मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको मंगलबार सबेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।  

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो। 

संघीय संसद्को मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ।

कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूचीपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ। 

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।