गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।
झापा– बिर्तामोडस्थित गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्। गिरीबन्धु टी–इस्टेटको चिया बगान र उद्योगमा हाल १७० मजदुर स्थायी रूपमा कार्यरत छन्।
बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टि–इस्टेटको चिया बगान र कारखाना छ। मजदुरहरूले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरूले गुहारेका हुन्।
मजदुरहरूले सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापनपत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन्।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदुरले पारिश्रमिक नपाएको बताए। “महिनौँदेखि पारिश्रमिक नपाउँदा मजदुरहरूको बिचल्ली भएको छ,” उनले भने, “व्यवसायीहरूले खाद्यान्नसमेत उधारो दिन छाडेका छन्।”
कार्यरत मजदुरहरू बगानको कच्ची आवास गृहमा बस्दै आएका छन्। अतिरिक्त आयस्रोत नभएका कारण मजदुरहरू भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रूपमा लिन पर्ने मजदुर अगुवा नारायण दर्जीको धारणा छ।
व्यवस्थापनले यसअघि पाक्षिक रूपमा मजदुरको पारिश्रमिक दिँदै आएको थियो। भुक्तानी रोकिए पनि मजदुरहरू नियमित कामकाजमा खटिइरहेको उनले जानकारी दिए। पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको उनको गुनासो छ।
“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ,” नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राई भन्छन्, “उहाँहरू पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ।”
मजदुरहरूले जिल्ला प्रशासन कार्यालय झापा र श्रम कार्यालय भद्रपुरमा पारिश्रमिक दिलाउन पहल गरिदिन ज्ञापन पत्र बुझाइसकेका छन्। पारिश्रमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदुरहरूले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ।
गिरीबन्धु टि–इस्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक संघटका कारण मजदुरहरूलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताए। बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उनको भनाइ छ।
श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदुरहरू कार्यालयमा आएपछि गिरीबन्धु टी–इस्टेट प्रालिलाई पत्राचार गरिएको बताए। “मजदुरहरू आउनुभएको थियो,” उनले भने, “पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
