सरकारले ‘कृषि दशक’ मनाउने

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी कृषिक्षेत्रमा लगानी बढाउने भएको छ। संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।

प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना गरिने, बाली लगाउनुपूर्व नै कृषकहरूलाई उत्पादनका साधनमा सहज पहुँच हुने सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

“कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिनेछ। कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्ला बन्दी गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ।

सरकारले कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने भएको छ।

“सम्भाव्य स्थानमा चैतेधान उत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमा पशुपालन, फलफूल, वन पैदावार तथा नगदेबाली खेती गर्न सहयोग गरिने छ,” नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले कृषिजन्य उपजको न्यूनतम समर्थन मूल्य तोकेर त्यसका लागि बजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने भएको छ।