बन्चरेडाँडा ल्यान्डफिलको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाइने

सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।

काठमाडौँ– सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।

उपत्यकाको फोहोर व्यवस्थापन गरिने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ। स्थानीयले बारम्बार विभिन्न माग राखेर अवरोध गरिरहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन।

संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बन्चरेडाँडाको समस्या समाधानका लागि अधिकारसम्पन्न संयन्त्र बनाउने बताएका हुन्।

“बन्चरेडाँडा ल्यान्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकारसम्पन्न संयन्त्र स्थापना गरिने छ,” राष्ट्रपति पौडेलले भने।

फोहोर व्यवस्थापनमा समस्या आउन नदिन स्थानीयसमेतको सहभागितामा संयन्त्र बनाउने नीति सरकारले लिएको घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको हो।