कर्णालीमा शैक्षिक सत्र सकिने बेलासम्म पनि कतिपय विषयका पाठ्यपुस्तक पुगेका छैनन्। यससम्बन्धमा प्रदेश शिक्षा निर्देशनालय भने बेखबर छ।
सुर्खेत- शैक्षिक सत्र शुरू भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ।
हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र शुरू भइसक्छ। तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन्।
कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ।
कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दिपा हमालले यस विषयमा स्थानीय सरकारबाट किताब पुग वा अपुग भएको सन्दर्भमा केही जानकारी नआएको बताइन्।
उनले भनिन्, “सञ्चार माध्यममा किताब अभाव भएको समाचार आइरहेको छ, तर यस विषयमा स्थानीय सरकारले हामीलाई कुनै जानकारी दिएको छैन। प्रदेश सरकारबाट भने किताब किन्नको लागि बजेट निकाशा भइसकेको छ।”
पालिकाहरूले भने किताब किन्ने जिम्मेवारी विद्यालयलाई दिएको बताउँदै आएका छन्। पुस्तकको लागि विद्यालयको खातामा रकम पठाइसकेको तर पुस्तक अभावको कारण विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी पुरी वनले बताए।
“हामीले किताब किन्नको लागि बजेट विद्यालयमा पठाइसकेका छौँ।” उनले भने, “पुस्तक अभाव भइरहेको भन्ने आइरहेको छ। यस विषयमा हामी जानकारी लिने छौँ।”
यसैबीच, पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक समयमै छाप्न सकेको छैन।
जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसी स्थानीय तह र विद्यालयबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको दाबी गर्छन्। तर जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय कार्यालयले भने कागजको अभावका कारण पुस्तक छपाइ हुन नसकेको जनाएको छ।
मतपत्रको लागि भने निर्वाचन आयोगले कागज उपलब्ध गराएको हुनाले मतपत्रको छपाइ चाँडै र सहजै सम्पन्न भएको तर किताब छाप्नको लागि कागजको अभाव रहेको केन्द्रीय कार्यालयका प्रवक्ता चित्रकुमार आर्चायको भनाइ छ।
कर्णालीका सामूदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने समस्या वर्षेनी खेप्दै आएका छन्। कर्णालीको दैलेख, सुर्खेत र जाजरकोटमा कक्षा–६ को विज्ञान, गणित र अङ्ग्रेजी विषयको छ हजार पुस्तक पुग्न नसकेको बताइएको छ भने कक्षा–८ को विभिन्न विषयको तीन हजार किताब पुग्न सकेको छैन। त्यसैगरी कक्षा–११ र १२ कक्षाको १२ हजार किताब पुग्न नसकेको जनाइएको छ।
पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मेवारी पाएका निकायले भने एकले अर्कोलाई जिम्मेवारी भन्दै पन्छिने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
