उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका थिए।

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध  पार्टी अध्यक्ष उपेन्द्र यादवले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

जसपा नेपालका अध्यक्ष यादवले गत वैशाख २३ गते भएको जसपा विभाजनविरुद्ध निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। सर्वोच्चले बुधबार सुनुवाइ गर्दै निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न भनेको छ।

न्यायाधीश विनोद शर्माको इजलासले दल विभाजनपछि हालसम्मका काम कारबाही जहाँ जे–जस्तो अवस्थामा छन्, त्यही अवस्थामा राखेर जेठ ८ गते छलफलका लागि उपस्थित हुन दुवै पक्षलाई झिकाएको हो।

अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका थिए। उनले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार रिट हालेका थिए।

यादव अमेरिका भ्रमणमा रहेका बखत जसपाका नेता अशोक राईले ७ जना सांसदलाई लिएर गत वैशाख २३ गते जनता समाजवादी पार्टी गठन गरेका थिए। पार्टी विभाजनलगत्तै यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा गरेका थिए। उनको ठाउँमा प्रधानमन्त्री पुष्पकमल दाहालले जसपालाई सरकारमा सहभागी गराइसकेका छन्।