रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

अस्ट्रेलिया, यूके, क्यानडा, जापानसहित १३ देशले इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

दक्षिणी गाजा पट्टीको पूर्वी रफाहमा इजरायली आक्रमणका क्रममा निस्किएको धुवाँको मुस्लो। तस्वीर: एएफपी

परम्परागत रूपमा इजरायलका समर्थक देशसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

“हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्‍याउँछौँ, यसले नागरिक जनसंख्यामा विनाशकारी परिणाम ल्याउनेछ,” ती मुलुकका विदेशमन्त्रीद्वारा आफ्ना इजरायली समकक्षी इजरायल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ।

हस्ताक्षरकर्ताहरूमा अस्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानडा, जापान, न्युजील्यान्ड, दक्षिण कोरिया र युरोपेली संघ (ईयु)का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन छन्। 

मन्त्रीहरूले गाजामा अन्तर्राष्ट्रिय सहायताको प्रवाहमा सुधारका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको मन्त्रिपरिषद्ले अपनाएको हालैको उपायको स्वागत गर्दै ‘थप कदम’का लागि पनि आह्वान गरेका छन्।

“मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजापट्टीमा प्रवेश गर्न दिन हामी इजरायल सरकारसँग आग्रह गर्दछौँ,” उनीहरूले भनेका छन्। उनीरूले इजरायलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गरेका छन्।

अपिलमा ‘स्थायी युद्धविराम’को पनि आह्वान गरिएको छ। मन्त्रीहरूले इजरायलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवा पुनः शुरू गर्न’ र ‘गम्भीर रूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेष गरी चिकित्सा आपूर्ति’लाई बढवा दिन आग्रह गरेका छन्।

अन्त्यमा उनीहरूले इजरायलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गरे।

इजरायलले अन्तर्राष्ट्रिय चिन्ताका बाबजुद युद्ध शुरू भएको आठ महिनापछि रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउने बताएको छ। गाजामा इजरायली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव निम्तिएको छ। गत साता इजरायली सेनाले रफाह क्रसिङ क्षेत्रमा नियन्त्रण गरेपछि सहायता सामग्री ढुवानी गर्ने गाडीको आगमनमा कमी आएको छ।