नेप्से परिसूचक ४५.६९ अंकले बढ्दा पाँच अर्ब २५ करोडको बारोबार

आइतबार ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौँ– कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढ्दै २०६४.४५ को विन्दुमा उक्लिएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा विस्तारमा लिएको लचिलो नीतिको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो।

यस दिन सेन्सिटिभ इन्डेक्स २.३४ प्रतिशतले बढ्दै ३६६.७६ अंकमा कायम भएको छ भने फ्लट इन्डेक्स २.४४ प्रतिशतले बढेर १४०.१३ अंक र सेन्सिटिभ फ्लट इन्डेसक्क २.४४ प्रतिशतले नै बढेर १२०.०२ को विन्दुमा कायम भएको छ।

आइतबार १३ वटै उपसमूह बढेका छन्। जीवन बीमा उपसमूह सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ। निर्जीवन बीमा ३.८१, वाणिज्य बैंक २.६३, उत्पादन तथा प्रशोधन १.६८, विकास बैंक १.६२, लघुवित्त १.३६, होटल तथा पर्यटन १.३५, लगानी १.२९,  जलविद्युत १.२५, म्युचुअल फण्ड १.१५, अन्य उपसमूह २.७६ प्रतिशतले बढेको छ।

नेप्सेका अनुसार आइतबार कारोबारमा आएका ३२३ कम्पनीमध्ये २०३ को शेयर मूल्य बढ्यो भने ४० को घटेको छ। चार वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन।

यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिद बिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २४ हजार ७८६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अंकले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको थियो। 

आत्मनिर्भर लघुवित्त र सबैको लघुवित्तको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ। नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस दिन मान्डु हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ। 

यस दिन सर्वाधिक कारोबार हुनेमा सीईडीबी हाइड्रोपावर छ। उक्त कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड २३ लाख, पोखरा फाइनान्सको १० करोड ७१ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको नौ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।