दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, कसले सम्हाल्लान् जिम्मेवारी

इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।

इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसहित अन्य अधिकारीहरूको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ।

इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभी तथा तस्निम र मेहर समाचार एजेन्सीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन्। सुनगुन नामक तामा खानी नजिकै प्रान्तीय राजधानी ताब्रिज जाने बाटोमा हेलिकप्टर दुर्घटनामा परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

यो हेलिकप्टर आइतबार साँझ दुर्घटनामा परेको थियो। पहाडी भूभाग र प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको थियो। ड्रोनको सहायतामा दुर्घटनास्थल पहिचान भएपछि सोमबार बिहान उद्धार टोली त्यहाँ पुग्न सफल भएको हो।

हेलिकप्टर दुर्घटनामा कोही जीवित रहेको कुनै संकेत नदेखिएको स्थानीय अधिकारीले बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन्। घटनास्थलबाट हेलिकप्टरको भग्नावशेषको तस्वीर पनि आएको छ। जसमा हेलिकप्टरका टुक्रा देखिएका छन्। 

राष्ट्रपति रायसी अजरबैजानको क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गरेपछि ताब्रिज शहरतर्फ जाँदै थिए।  राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यसमा दुई वटाले सुरक्षित अवतरण गरेको र एउटा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा नौ जना सवार थिए। इरानी राष्ट्रपति रायसी विदेशमन्त्री अब्दुल्लाहियानससहित पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीका साथै पाइलट, कोपाइलट, चालक दल प्रमुख, सुरक्षा प्रमुख र अंगरक्षक सवार थिए। 

को बन्छ राष्ट्रपति
राष्ट्रपति रायसी सवार हेलिकप्टर दुर्घटनाको खबर लगत्तै इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले आफ्नो पहिलो वक्तव्यमा यस दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताएका छन्।

देशलाई सम्बोधन गरेको सन्देशमा खामेनीले यस दुर्घटनाबारे इरानका जनतालाई चिन्ता नगर्न भनेका छन्। साथै उनले सरकारको काममा असर नपर्ने बताएका छन्। दुर्घटनापछि खामेनीले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक पनि गरेका थिए। 

इस्लामिक गणतन्त्र इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपति (मोहम्मद मोख्बेर)ले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। इरानको एकमात्र दल इस्लामिक रिभोलुस्नरीका सर्वोच्च नेता आयतोल्लाहको स्वीकृतिमा प्रथम उपराष्ट्रपतिलाई पद हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था छ। तर, ५० दिनभित्र भने देशले नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।

इरानी राजनीतिक पदानुक्रमका अनुसार, राज्यको प्रमुख इस्लामिक क्रान्तिका नेता आयतोल्लाह सैयद अली खामेनी हुन्। र राष्ट्रपतिलाई सरकारको प्रमुख र दोस्रो इन कमान्ड मानिन्छ।