संखुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन्।

फाइल तस्वीर

संखुवासभा– संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातको समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिए।

सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी बताइन्। रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंको भनाइ छ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग ताप्लेजुङ र  चीनसँग जोडिएको छ। घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्दछ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त गरी ६० भन्दा बढी भेडीगोठहरू छन्। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।