सभामुखले पदीय मर्यादाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको आरोप

कांग्रेसले कार्यादेशलाई टुंग्याएर सदन सञ्चालनलाई सहज बनाउनुपर्नेमा सरकार र सत्तापक्ष सहकारीका केही ठगलाई जोगाउन संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको ठहर गरेको छ।

 

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले पदीय मर्यादाअनुसार भूमिका निभाउन नसकेको आरोप लगाएको छ। सोमबार दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख घिमिरेले पदीय जिम्मेवारी पूरा नगरेको ठहर गर्दै पदीय मर्यादा काम राख्न ध्यानाकर्षण गराएको हो।

सोमबार प्रतिपक्षी दलको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। त्यसपछि कांग्रेसको संसदीय दलको बैठक बसेको थियो। बैठकले सभामुख सदनमा पार्टी विशेषको कार्यकर्ताजस्तो प्रस्तुत भएको र त्यसो गर्नु सभामुखजस्तो पदमा आसीन व्यक्तिका लागि शोभनीय नहुने ठहर गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

“संघीय संसद्को सभामुखजस्तो पदमा आसीन व्यक्तिले त्यो गरिमा, त्यो मर्यादा राख्नुपर्छ। र कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा संसद्मा प्रस्तुत हुने कुरा सभामुखजस्तो पदका लागि शोभनीय हुँदैन,” उनले भने, “हामीलाई सम्माननीय सभामुखज्यूलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनका लागि पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न ध्यानाकर्षण गराएका छौँ।”

लेखकले सोमबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले बोल्नका लागि पटक–पटक समय माग गरेको तर सभामुखले बोल्ने अवसर नदिएको बताए।

कांग्रेसले सहकारीका बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्दै आएको छ। संसदीय छानबिन समिति बनाउने विषयमा कांग्रेस र सत्ता पक्षबीच सहमति भए पनि कार्यादेशको विषय टुंगिन सकेको छैन।

कांग्रेसले कार्यादेशलाई टुंग्याएर सदन सञ्चालनलाई सहज बनाउनुपर्नेमा सरकार र सत्ता पक्ष सहकारीका केही ठगलाई जोगाउनका लागि संसदीय मूल्यमान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको ठहर गरेको छ।

“कांग्रेससहित सम्पूर्ण विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा र संसदीय छानबिन समिति गठन गर्ने कुरामा सहमति भइसकेको स्थितिमा पनि त्यसको कार्यादेशलाई पूर्णता दिएर समिति गठन गर्नुको सट्टा प्रधानमन्त्री बल मिच्याइँपूर्वक बहुमतको दम्भमा, पर्याप्त समय हुँदाहुँदै पनि आजै विश्वासको मत लिन संसद्मा प्रस्तुत हुनुभयो,” उनले भने, “सरकारले तानाशाही प्रवृत्ति देखायो। अवरुद्ध संसद्का बीचमा बहुमतसिद्ध गर्ने नाटक गर्‍यो।”