१ खर्ब २६ अर्बको निर्यात हुँदा १३ खर्बको आयात

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ। यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको १० महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँको आयात र ८६ अर्ब रुपैयाँको निर्यात भएको छ। नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको छ। १० महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड रुपैयाँ बराबरको डिजेल ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको डिजेल र ४६ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। सोही अवधिमा २४ अर्ब एक करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैँची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड रुपैयाँ बराबर छ।