बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।
गण्डकी– कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन्। जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् ।
केही वर्ष अघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि समस्या भइरहेको स्थानीय किसानको गुनासो छ। पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायत स्थानमा विगतका भन्दा बाँदर आतंक बढेको छ।
पोखरा महानगरपालिका–३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्ने क्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउँछन्।
“फाँटतिर जेनतेन धानखेती भइरहे पनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्,” उनले भने, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ।”
वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ। आफूहरूले बाँदरको व्यवस्थापन एवं क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उनले गुनासो गरे।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेतालपारि भुसालटारीका स्थानीय सामूहिक रूपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिए। “खास्टेतालपारिको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो। पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ। त्यसैले विकल्पका रूपमा हामीले सामूहिक रूपमा कागतीखेती गर्न थालेका छौँ।”
कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रूपमा यहाँको १७० रोपनी क्षेत्रफलमा कागतीखेती शुरू गरेका छन्। त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तीमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन्। सो खेतीका लागि हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
“हामीले शुरूका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार संख्यामा कागतीका बिरुवा लगाएका हौँ,” अधिकारीले भने, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ।”
सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताए। पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुन सके खास्टेतालमा आउने पर्यटकको बसाइँ थप केही समय लम्ब्याउन सकिने उनको बुझाइ छ।
महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी पनि बाँझा जग्गामा कागतीखेती गर्न सकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउँछन्। कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उनले बताए। “कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ। त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरुरी छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
