मंगलबार मात्रै विशेष अदालतले पाैडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय र २५ करोड बिगो र त्यति नै जरिबानाको फैसला सुनाएको थियो।
काठमाडौँ– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ।
मुद्रण केन्द्रका कार्यकारी निर्देशक भएको मिति २०७४ देखि २०८० को अवधिमा पौडेलले कमिसन एजेन्टका रूपमा समेत गैरकानूनी ढंगले सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। उनी पदमा रहेको अवधिमा उनले वैधानिक तवरले २ करोड १ लाख ४३ हजार रुपैयाँ कमाएको देखिएको छ। तर उनले गरेको खर्च र लगानी ६४ करोड २० लाख ६२ हजार रुपैयाँ देखिएकाले ६२ लाख रुपैयाँ गैर कानूनी ढंगले आर्जन गरेको खुल्न आएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले पौडेलले प्रयोग गर्ने मोबाइलको अध्ययन र विद्युतीय कारोबारको विश्लेषण गरेर उनले आर्जन गरेको सम्पत्तिबारे पत्ता लगाएको हो। विद्युतीय कारोबारबाट पौडेलले आफ्ना बुवा, श्रीमतीका नाममा अमेरिका, सिंगापुरलगायत देशमा लगानी, बैंकमा पैसा जम्मा गरेको साथै नेपालमा शेयर खरिद गरेकोसमेत भेटिएको छ।
अख्तियारले पौडेलको अमेरिकास्थित बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार रुपैयाँ जम्मा गरेको भेटिएको जनाएको छ। त्यस्तै, सिंगापुरको बानकोटेक कम्पनीबाट कमिसन बापत ९ लाख ९ हजार ४४१ डलर लिएको र अर्को एक कम्पनी इस्टासेफ इन्कर्पोरेसनबाट बिक्री बापत १ लाख ३९ हजार ९४६ अमेरिकी डलर प्राप्त गरेको जनाएको छ।
त्यस्तै, उनले सिंगापुरस्थित प्रुडियन्सल इन्स्योरेन्समा २ करोड ४४ लाख ६३ हजार ८२२ बराबरको जीवन बीमा गरेको समेत भेटिएको अख्तियारले जनाएको छ।
अख्तियारले विकल पौडेलका साथै उनकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शितल पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ। उनीहरूको नाममा विदेशी बैंकमा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ। विकल पाैडेलको नाममा अहिलेसम्म जफत असुलउपर गर्नमिल्ने सम्पत्ति ४४ करोड ५२ लाख ९१ हजार मात्रै भएकाले बाँकी रकम अन्य प्रतिवादीको सम्पत्तिबाट जफत गर्न अख्तियारले मागदाबी गरेको छ।
मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो। विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिबाना गर्नुपर्ने फैसला गरेको थियो।
विकल पौडेलविरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन्। आयोगले पौडेलउपर अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिए पनि सोको विवरण नखुलाई सार्वजनिक पदमा रही लाभ लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
यस्तै, सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा केही साताअघि तेस्रो मुद्दा दायर भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
